मौसमी रुघाखोकीले हुम्लामा दश दिन यता ७ जनाको मृत्यु भइसकेको छ । लगातारको हिमपातपछि घामलाग्न सुरु गरेसँगै हुम्लाको चंखेली गाउँपालिकामा ५ तथा सर्केगाड-३ मा मौसमी रुघाखोकी फैलिएको हो ।
शनिबारसम्म पाँच जनाको मृत्यु भएकोमा शनिबार राति र आइतबार बिहान गरी मृत्यु हुनेको संख्या सात पुगेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा सातजनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ । उनीहरू सबैको २६ पुसयता ज्यान गएको हो । त्यस्तै, सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ ।
एक हप्तादेखि फैलिएको मौसमी फ्लुका कारण अहिले सर्केगाडका धेरैजसो गाउमाँ रुघाखोकी र ज्वरोको समस्या देखिएको र निको हुन समय लागेकाले ज्यान लिनेसम्मको समस्या आएको गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिएका छन् ।
बिरामीमा रुघाखोकी, ज्वरो आउने र बेहोस हुने लक्षण देखा परेको छ ।