प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको छ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीले जानकारी दिए ।
पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका-९ का मोहम्मद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन्।
उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ। एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा फेला परेको थियो। एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको जनाइएको छ ।