काठमाडौं – प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोग लागेकी गायिका आस्था राउत परिवारका सदस्यसहित प्रहरी कार्यालयमा उपस्थित भएकी छन् ।
गायिका राउत परिवारका सदस्यसहित सोमबार बिहान महानगरीय प्रहरी परिषर काठमाडौं, टेकुमा उपस्थित भएकी हुन् । गायिका आस्था राउत आइतबार बेलुका भारतबाट नेपाल आएकी हुन् ।
उनीविरुद्धको अभियोगमाथिको छानबिन अब प्रक्रियागत रुपमा अघि बढ्ने प्रहरी परिषर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न प्रहरीलाई यसअघि नै अनुमति दिएको थियो ।
राउतले ड्युटीमा खटिएका प्रहरीले आफूविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाएकी छन्। यता प्रहरीले भने राउतले प्रहरी संगठनकै बदनाम गरेको र ड्युटीमा खटिएका प्रहरीलाई दुव्र्यवहार गरेको दाबी गरेको छ।