काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।
सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रका संस्थाहरुलाई कोरोना भाइरसका विषयमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् । कोरोना भाइरसबाट नेपाल सुरक्षित छ भन्ने सन्देश दिन उच्च सतर्कता अपनाउनुपर्ने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले विमानस्थलमा उच्च सतर्कता अपनाइएको बताए । उनले यात्रुहरुलाई ज्वरो आएको वा अन्य कुनै आशंका भएको पाइएमा अलग राख्ने र अस्पतालसम्म तुरुन्तै लैजाने व्यवस्था गरिएको जानकारी दिए ।
साथै यात्रुसँग भेटने कर्मचारीहरुलाई पनि उच्च सतर्कता अपनाउन मास्क र पन्जा प्रयोग अनिवार्य गरिएको समेत उनको भनाई थियो ।
मन्त्रालयले पर्यटन व्यवसायीहरुले पर्यटकलाई कुनै समस्या देखिए वा कोरोना भाइरस सम्बन्धी लक्षणहरु देखा परे तत्काल अस्पताल सम्म पुर्याउने तथा पर्यटकीय क्षेत्रमा कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा प्रचार प्रसार गर्न निर्देशन दिएको छ ।