logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा केन्द्रीय कमिटी बैठक सभामगृहमा हुने, अध्यक्षको प्रतिवेदन तयार


अंकुरण खबर
793
Shares

काठमाडौँ – आगामी बुधबार बस्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा पेश गर्ने प्रतिवेदन संशोधनसहित अन्तिम रुप तयार भएको छ ।

२९ मङ्सिर– ६ पुससम्म चलेको नेकपाको स्थायी समिति बैठकमा सहभागी सदस्यहरूले राखेका प्रतिक्रिया र टिप्पणीहरूमाथि आवश्यक संशोधन गर्न पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य थालेका थिए ।

पार्टीको विधानअनुसार स्थायी समितिले गरेका निर्णयहरू अनुमोदनका लागि पोलिटब्युरो र केन्द्रीय समितिको बैठकमा पेश गर्नुपर्ने हुन्छ ।  नेकपामा हाल पोलिटब्युरो गठन भइनसकेकाले १५ माघमा बस्ने केन्द्रीय समिति बैठकमा स्थायी समितिका सुझाव र प्रतिक्रियाहरू पेश हुने भएका छन् ।

स्थायी समिति बैठकले उठाएका विषयमा आइतबार अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो । स्थायी समिति बैठकमा प्रतिवेदनमाथि आएका प्रतिक्रिया र टिप्पणीहरूलाई पार्टीको सचिवालय बैठकले टुंगो  लगाउने सहमतिसहित बैठक समापन भएको थियो ।

नयाँ पत्रिका दैनिक लेख्छ, स्थायी समितिका सदस्यले गरेको सोही प्रतिक्रियाहरूलाई अध्यक्षद्वयले आवश्यक संशोधन गरेका छन् । प्रतिक्रियाहरूलाई आवश्यक सम्बोधन र संशोधन गर्न पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड थप सक्रिय रहेका थिए ।

‘स्थायी समितिमा उठेका विषयहरू समेटेर राजनीतिक प्रतिवेदन तयार भइसकेको’ प्रचण्ड निकट एक नेताले भने । यसलाई अब  बस्ने पार्टीको सचिवालय बैठकले टुंगो  लगाई १५ माघमा बस्ने केन्द्रीय कमिटीको बैठकमा पार्टीका अध्यक्षले प्रतिवेदन पेश गर्ने छन् ।

२९ मङ्सिरको उक्त बैठकमा स्थायी समिति सदस्य विष्णु रिमाल, घनश्याम भुसाल, भीम रावललगायत नेताहरूले पार्टीमा गुटबन्दी झङ्गिएको, पार्टी विधि र पद्धतिअनुसार नचलेको, सभामुख चयन चाँडै गर्नुपर्ने र अमेरिकाले सहयोग गर्ने भनेको मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बारे थप छलफल हुनुपने लगायतका विषयमा टिप्पणी गरेका थिए ।

‘स्थायी समिति बैठकमा हामीले राखेका विचारमा अध्यक्षद्वयले छलफल गर्नु भएको बुझेका छौं,’ स्थायी समिति सदस्य विष्णु रिमालले भने, ‘यसलाई सचिवालय बैठकले टुंगो  लगाउने छ ।’

स्थायी समितिको उक्त बैठकमा सहभागी सबै नेताले पार्टीमा गुटबन्दी हावी भएको र यसबाट जनताले अपेक्षा गरेका काम गर्न नसकिने धारणा राखेका थिए । २९ मङ्सिरमा प्रचण्डले १६ पृष्ठको राजनीतिक प्रतिवदन प्रस्तुत गरेपछि सदस्यहरूले उठाएका विषयमा आवश्यक संशोधान गरिने बताएका थिए ।

यसै विषयमा ११ माघ र आइतबार दुवै अध्यक्षबीच छलफल भएको हो । ‘स्थायी समितिका सदस्यहरूले राख्नु भएको धारणाबारे दुवै अध्यक्षले पटक–पटक छलफल गर्नु भएको छ । १५ गते पेश हुने प्रतिवेदनमाथि आवश्यक सबै विषय अब टुङ्गिन बाँकी छैनन्,’ पार्टी महासचिव विष्णु पौडेलले नयाँ पत्रिकासँग भने ।

सभागृहमा आयोजना हुने पार्टीको केन्द्रीय समिति बैठक प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा बस्ने भएको छ । यसअघि पार्टी कार्यालय धुम्बारहीमा बैठक बस्ने बताइए पनि सीट क्षमताका कारण कार्यालयमा बैठक बस्ने नसकेको हो ।