लागुऔषधको मुद्दामा हिरासतमा रहेका हेम राउतको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा झुण्डिएर आत्महत्या प्रयास गरेका अभियुक्त राउतको मृत्यु भएको हो । पटक/पटक पक्राउ परेका राउत प्रहरी रेकर्ड अनुसार तीन पटक धरौटीमा छुटेका काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
बानेश्वरका प्रहरी प्रमुख दुर्गाराज रेग्मीका अनुसार राउतले आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रेग्मीले भने हामीले देख्ने वित्तिकै तत्काल उद्दार गरेर सिभिल अस्पताल लग्यौं’, तर , बचाउन सकिएन ।’ गएराति राउतको मृत्यु भएको चिकित्सकले घोषणा गरेको रेग्मीले बताए ।
उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ ।