काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा बदली भएको छ ।
हाल देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भू-भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो पश्चिम तथा मध्य भू-भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ । यस्तै पूर्वी तराई भेगमा आंशिक बदली हुनेछ। पश्चिम र मध्य भू-भागका धेरै स्थानमा र पूर्वी भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थान र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।