देशभर बढ्दै गएको बाथरोगलाई मध्यनजर गर्दै नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले मंगलबार नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रा.लि.को सहकार्यमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो ।
नवनिर्मित सेन्टरको काठमाडौँ क्षेत्र नं ९ प्रदेश (ख)का सांसद केशव पोखरेलले शुभारम्भ गर्दै निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले नीजि क्षेत्रमा सञ्चालित अस्पतालले पनि गरिब जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने बताए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पछिल्लो समय कोरोना भाइरसले भयावह रुप लिँदै गएको बेला उक्त रोगको उपचारका लागि अस्पताल तम्तयार अवस्थामा रहनु पर्ने बताइन् ।

त्यस्तै अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले गुणस्तरीय सेवा दिन अस्पताल प्रतिवद्ध रहेको बताए । अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथरोगबाट पीडित भएको बताउँदै उक्त रोगीलाई सहज उपचार गराउनका लागि अस्पतालले बाथरोग सेन्टरको स्थापना गरेको जानकारी दिए ।
कार्यक्रममा नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रा.लि.का अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा.विनित वैद्यले बाथ रोगको उपचार सर्वसुलभ र सहज बनाउन बाथरोग सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
पाँच वर्ष पहिला स्थापना भएको अस्पतालले केही महिना पहिलामात्र टेलिमेडिसीन सेवाको शुभारम्भ गरेर दुर्गम क्षेत्रका विरामीलाई समेत सेवा प्रदान गर्दै आइरहेको छ ।