काठमाडौं – सरकारले नेपाल छिर्ने चिनियाँ नाकाबाट चिनियाँ पर्यटकलाई प्रवेशमा रोक लगाएको छ।
केही सातादेखि चीनबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस नेपालमा पनि पर्यटकहरुको माध्यमबाट फैलिने सम्भावना बढेपछि सरकारले चिनियाँ पर्यटकलाई प्रवेशमा रोक लगाएको हो।
सरकारले रसुवागढी-केरुङ र तातोपानी-खासा नाकाबाट प्रवेश गर्ने पर्यटकलाई रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।
‘चीनबाट नेपाल छिर्ने नाकामा आवतजावतमा रोक लगाइएको छ। चीनमा फैलिएको कोरोना भाइरस र ल्होसार पर्वलाई ध्यान दिँदै नाकामा रोक लगाइएको हो,’ प्रवक्ता शर्माले भने।
बुधवारदेखि १५ दिनसम्म पर्यटकलाई प्रवेशमा रोक लगाइएको हो। दुई देशका स्थानीय प्रतिनिधिहरुको छलफलपछि रोक लगाउने सहमति भएको प्रवक्ता शर्माले जानकारी दिए।
कोरोना भाइरस पोखरामा पनि देखिएको आशंका गरिएको छ। एक साता अघि अन्नपूर्ण सर्कीटको ट्रेकिङ सकेर पोखरा आएका चिनियाँ जोडीमा कोरोनाको भाइरसका संकेतहरु देखिएको आशंका गरिएको हो।
कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म १ सय जना भन्दाबढीको मृत्यु भइसकेको छ।