काठमाडौं – चीनबाट फैलिएको नोवल कोरोना भाइरस संक्रमण नेपालमा अहिलेसम्म फैलिनसके पनि चीन तथा हङकङबाट आएका यात्रुलाई भने विशेष निगरानीमा राख्न थालिएको छ ।
यसैक्रममा बुधबार अन्तर्राष्ट्रिय विमानास्थलबाटै एकजनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुर्याई निगरानीमा राखिएको छ । नमुना परीक्षणको रिपोर्ट आएपछि मात्रै उनलाई घर पठाउने अस्पतालले जनाएको छ ।
अस्पतालमा अहिलेसम्म निगरानीमा राखिनेको संख्या पाँच पुगेको छ । चीनबाट फर्केका एक विद्यार्थीबाहेक सबैको रिपोर्ट नेगेटिभ पाइएको स्थिति रहे पनि रोगको संक्रमण रोक्न अस्पतालले निगरानीका लागि राख्ने गरेको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।
उनीहरुमा रुघाखोकीसहित ज्वरो भएको र संक्रमित रहेका देशबाट आएकाले निगरानीमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक महिनादेखि फैलिएको कोरोना संक्रमणका कारण चीनमा बुधबारसम्म एक सय ३० जनाको मृत्यु भइसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।