नेपालले पहिलो पटक आयोजना गर्न लागेको सगरमाथा संवादमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने–नआउने निश्चित भइनसकेको भारतले जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीलाई पठाएको निमन्त्रणा प्राप्त भएको तर उनको सहभागिताबारे निर्णय भइ नसकेको जानकारी दिए।
‘सगरमाथा संवादमा प्रधानमन्त्रीको सहभागिताका लागि नेपालले पठाएको पत्र प्राप्त भएको छ। प्रधानमन्त्रीको विदेश भ्रमण गर्ने विषयमा निर्णय निश्चित कार्यविधिमार्फत हुन्छ। यसमा क्यालेन्डर, अन्य प्रतिबद्धताहरुलाई पनि ध्यानमा राखिन्छ,’ रविश कुमारले भने, ‘हामीले यस विषयमा गर्ने निर्णय उचित समयमा जानकारी गराइने छ।’
अप्रिल २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुन लागेको सगरमाथा संवादका लागि नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री इमरान खानसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुलाई आमन्त्रण गरेको छ ।