काठमाडौं – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।
यस्तै तराईमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले बदली भए पनि बिस्तारै मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले पूर्णरुपमा बदली भएको काठमाडौंमा केहीबेरपछि बिस्तारै घाम लाग्नेछ । साथै शुक्रबार काठमाडौंमा पानी पर्ने सम्भावना नभएको पनि उनले बताइन् ।
तर मध्य र पूर्वको एक दुई ठाउँमा भने दिउँसोपछि हल्का पानी पर्ने उनको अनुमान छ । शुक्रबार देशभरिकै मौसम एकैछिन खुल्दै बादल लागे पनि पानी पर्ने सम्भावना भने निकै कम भएको पनि मौसमविद्ले जनाएको छ।