टिपरले किचेर महिलाको ज्यान गएपछि शुक्रबार बिहानैदेखि गोरखामा स्थानीयहरु आक्रोसित बनेका छन् ।
गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले किचेर गोरखा नगरपालिका-१० अमलापानीका ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो । ठक्करबाट भुइँमा लडेकी तामाङलाई टिपरले ब्याक गरी किचेर मारेको स्थानीयको आरोप छ ।
शुक्रबार बिहानै घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई क्रसरबाट निस्केको टिपरले किचेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
तामाङको मृत्यु भएपछि आक्रोसित स्थनीयले उक्त टिपरमा आगजनी गरेका छन् भने क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका छन् । क्रसरभित्र पचास भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।