नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समितिको बैठकमा नेकपाका सातवटै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो रिपोर्टिङ पेस गरेका छन् ।
बिहीबार सुरु भएको नेकपा केन्द्रीय समिति बैठकमा शुक्रबार विभिन्न १५ वटा समूहले समूहगत छलफल सकेर केन्द्रीय सदस्यको धारणा संकलन गरेका हुन् । प्रदेश अध्यक्षको रिपोर्टिङलगत्तै समूहका नेताहरूले बैठकमा उठेका विषयवस्तुबारे रिपोर्टिङ गर्नेछन् ।
शुक्रबार बिहानबाट सुरु भएको बैठकमा प्रदेश १ का अध्यक्ष देवराज घिमिरे , प्रदेश २ का प्रभु शाह, बागमती प्रदेश अध्यक्ष नारायण दाहाल, गण्डकीका हितराज पाण्डे, प्रदेश ५ की ओनसरी घर्ती, कर्णाली प्रदेशका गोरखबहादुर वोगटी र सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेशको सांगठनिक अवस्थाबारे रिपोर्टिङ गरेका छन् । अन्य अध्यक्षले रिपोर्टिङ राख्ने क्रम जारी छ ।
यसअघि बिहीबार समूहगत छलफल नटुंगाएका कतिपय समूहले छलफल शुरु गरेका छन् । समूहगत छलफलमा उठेका विषय टोली नेता र उपेनताले बैठकमा पेश गरेपछि अन्य विषयमा छलफल हुनेछ । समूह नेतामा चयन भएका छन् । माघ १५ बाट शुरु भएको नेकपा केन्द्रीय कमिटी बैठक १९ गतेसम्म चल्नेछ ।