उपराष्ट्रपति नन्दकिशोर पुनको सल्लाहकार हुँ भन्दै ठगी गर्ने तीनजना भारतमा पक्राउ परेका छन् ।
उनीहरुलाई भारत मध्यप्रदेश राज्यको उज्जैनबाट प्रहरीले पक्राउ गेको हो । पक्राउ पर्नेमा महावीरप्रसाद तोरडी, प्रमोद शर्मा र कुलदीप शर्मा छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार महावीरले आफू उपराष्ट्रपतिका सांस्कृतिक सल्लाहकार भएको दाबी गरेका थिए । यस्तै प्रमोदले पूर्वसल्लाहकार र कुलदीपले निजी सचिव दाबी गरेका थिए । पक्राउ परेका सबै भारतीय नागरिक रहेको पनि समाचारमा जनाइएको छ ।
नेपालका उपराष्ट्रपतिको सल्लाहकार भन्दै उनीहरुले भारतीय सरकारको सुविधामा होटलमा बसेका थिए । उनीहरुसँग नेपालको सरकारी नम्बर प्लेटको गाडीसमेत थियो । गाडीमा उनीहरुले नक्कली नम्बरप्लेट राखेको खुलेको छ । होटल कर्मचारीलाई शंका लागेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले उनीहरुका साथमा रहेका परिचयपत्र जाँच गर्दा नक्कली भएको खुल्यो । प्रहरीसँगको बयानमा उनीहरुले सुरुमा आफूहरु उपराष्ट्रपतिको सचिवालयमा काम गर्ने र नेपालबाट आएको बताएका थिए ।