काठमाडौं – जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु र नौ जना घाइते भएका छन् ।
शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको बा ४ ख ९५०९ नंको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ३९ प १९२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाइते चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन ।
मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
यस्तै खैरहनी नगरपालिका–३ तरकारीचोकमा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु र नौ घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी मनोरसा–६ बस्ने गुन्दो मण्डलका आठ महिनाको छोरा सत्यम मण्डल रहेका छन् । जलेश्वरबाट कामाडौंतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नंको बस र सोही दिशाबाट आइरहेको ना ६ ख १५०६ नंको ट्रक ठक्कर हुँदा १० जना घाइते भएका थिए ।
घाइतेमध्ये मण्डलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य घाइतेमध्ये दुईको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको चितवन मेडिकल कलेज र अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ट्रक र ट्रकचालक नियन्त्रणमा रहेको भए पनि बस चालक फरार भएको प्रहरीले जनाएको छ ।