आइतबार बिहान सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र हाइस ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ । दुर्घटनाका मृतक सबैको सनाखत भएको छ ।
मृत्यु हुनेमा हाइसका चालक धादिङको बैरेनी– ३ का दीपक खड्का, झापाको भद्रपुर– ५ की ६५ वर्षीया डोलकुमारी कोइराला, उनका पति हेमराज कोइराला र झापा चन्द्रगढीकी गरिमा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको गोल्डेन अस्पतालमा, ४ जनाको एपेक्स अस्पतालमा र २ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
झापाबाट काठमाडौँ आउँदै गरेको बा५ख ३१५७ नम्बरको हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७०५ नम्बरको बस आइतबार बिहान सवा ७ बजेतिर सुनसरीको रामधुनी नगरपालिका २ कृषिफर्मनजिक आपसमा ठोक्किएका थिए ।
बस चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।