logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार गरेर विदेश भाग्न लागेका युवक विमानस्थलबाटै पक्राउ


अंकुरण खबर
715
Shares

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका एक युवकलाई विमानस्थलबाटै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ बस्नेतगाउँ घर भएका २८ वर्षीय हेमनसिंह बस्नेत छन् । सीआईबीका अनुसार उनी जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त हुन् ।

हरिकृष्ण नामले समेत चिनिने बस्नेत केही समय अगाडिसम्म स्काभेटर चालक थिए । धादिङको बस्नेत गाउँमै बाटो खन्ने क्रममा उनले एक युवतीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

उनले गत जेठ १४ गते धादिङको गजुरी गाउँपालिका–८ हलेदेखोला घर भएकी एक १६ वर्षीया युवतीमाथि घरमै गएर बलात्कार गरेका थिए ।

घटनापछि स्थानीयले प्रहरीमा उजुरी दिएपनि बस्नेत फरार थिए । लामो समय भारतमा रहेका उनी वैदेशिक रोजगारीका लागि कुवेतको भिसा लागेपछि नेपाल फर्किएका थिए ।

१६ वर्षीया युवतीको बलात्कार गरेर फरार रहेका बस्नेत वैदेशिक रोजगारीमा जान लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउका लागि सीआईबीलाई अनुरोध गरेको थियो ।

धादिङ प्रहरीको अनुरोधअनुसार सीआईबीले बस्नेतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मा लगाएको छ ।