काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पोर्चुगलमा दूतावास स्थापनाका लागि आफुले पहल गर्ने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएन)ले पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले एनआरएनको प्रयासमा नेपाल सरकार सकारात्मक रहेको बताएका हुन् ।
सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले भने, ‘त्यहाँको समस्या समाधानका लागि एनआरएनको पहल सकारात्मक छ, हामी उपयुक्त निकास बारे छलफल गरिरहेका छौं ।
एनआरएन पोर्चुगलले पछिल्लो समय यूरोपेलि मुलुक पोर्तुगल मा बसोबास गर्ने नेपालीको संख्या बढ्दै गएकाले दूतावास स्थापनाका लागि यथासक्य पहल गरिदिन परराष्ट्रमन्त्रीसँग आग्रह गरेको हो । दूतावास नभएकै कारण पोर्चुगलमा नेपालीहरुलाई समस्या भएको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालीमा लगानी प्रवर्द्धन र ब्यापार तथा पर्यटन विस्तारका लागि पनि दूतावास अपरिहार्य रहेको उल्लेख छ ।
मन्त्री ज्ञावलीलाई पोर्चुगल एनआरएनका तर्फबाट ज्ञापनपत्र बुझाउँदै एनआरएन पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरेले लामो समयदेखि आफूहरुको माग सुनुवाइ नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
करिब तीस हजारको संख्यामा नेपाली रहेको पोर्चुगलमा नेपाली दूतावास नहुँदा हरेक सरकारी कामका लागि फ्रान्स धाउनुपर्ने बाध्यता भएको र यसमा विषयमा नेपाल सरकारले कुनै पहल नगरेको प्रवासी नेपालीहरुको गुनासो रहेको छ ।