काठमाडौं – नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ३७५ पुगेको छ ।
यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर ९९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिए ।
निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।