सरकारले कोरोना भाइसर प्रभावित चीनबाट नेपाली विद्यार्थीलाई ल्याउने प्रक्रिया शुरू भएको बताएको छ ।
मंगलवार प्रतिनिधिसभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनमा नेपाली विद्यार्थीमा भाइरस नदेखिएको प्रमाणित भएपछि मात्र उनीहरूलाई ल्याउने प्रक्रिया शुरू गरिने बताएका हुन् ।
मन्त्री ढकालले चीनबाट नेपाली विद्यार्थी ल्याउने प्रक्रिया पूरा हुँदा नेपालमा ल्याएर राख्ने ठाउँको प्रबन्ध गरिसक्ने बताए । चीनबाट आएका विद्यार्थीलाई सिधै आफन्तको जिम्मा लगाउन नसकिने र १४ दिनसम्म प्रत्यक्ष निगरानीमा राखिने मन्त्री ढकालले बताए । १४ दिनमा संक्रमण नदेखिए मात्र उनीहरूलाई परिवारको जिम्मा लगाइने उनले बताए ।
सरकारले पोखरा, चितवन र भैरहवामा हेल्थ डेस्क स्थापना गरेर ४३ बेड तयारी अवस्थामा राखेको मन्त्री ढकालको भनाइ छ ।
संसदमा कोरोना भाइरसका बारेमा प्रश्न उठेपछि मन्त्री ढकालले यसको जवाफ दिन रोष्ट्रममा पुगेका थिए । ‘यसको निदान किटानी रूपमा यही हो भन्न सकिएको छैन,’ उनले भने, ‘३१ डिसेम्बर २०१९ मा यो भाइरसका बारेमा पहिलोपटक सार्वजनिक भएको हो । चीनको हुवान प्रान्तबाट शुरू भएको हो ।‘
मन्त्री ढकालले अहिलेसम्म १७ हजार ३ सय ५१ संक्रमित छन् रहेको र तीमध्ये १७ हजार २ सय ३८ चीनमा मात्र पाइएको जानकारी दिए । ‘अहिलेसम्म ३ सय ६२ जनामध्ये ३ सय ६१ जनाको चीनमा नै मृत्यु भएको छ भने एकजना चिनियाँ नागरिकको फिलिपिन्समा मृत्यु भएको छ,।‘
उनले विश्व स्वास्थ्य संगठनको तर्फबाट माघ १६ गते अन्तर्राष्ट्रियस्तरको इमर्जेन्सी घोषणा गरिएको तर यातायात र व्यापारमा कुनै प्रतिबन्ध नलगाइएको बताए । उनले चीन सरकारले कोरोना भाइरसलाई निर्मुल पार्न गरिरहेको प्रयत्नलाई विश्व स्वास्थ्य संगठनले पनि सराहना गरेको उल्लेख गरे ।