सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. ५ का वाडाध्यक्ष सहित विद्यालयका प्रधानध्यापक कुटिएका छन् ।
सोही वडाका वडा सदस्य यमबहादुर मगरको नेतृत्वमा ७ जनाले उनीहरुमाथी हातपात गरेका हुन् । जुगल गाउँपालिका-५ बराम्ची स्थित रत्न राज्य माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सकेर बिद्यालयकै क्यान्टिनमा खाजा खाइरहेका वडाध्यक्ष अधिकारी, सोही विद्यालयका प्रधानध्यापक छन्दप्रसाद काफ्ले र शिक्षक पुष्पराज तिमल्सिनामाथि मगरको नेतृत्वले आक्रमण गरेको हो । वडाध्यक्ष अधिकारी सोही विद्यालयका अध्यक्ष समेत हुन् ।
सोमबार बेलुकी ६ बजे तिर भएको उक्त घटनामा वडाध्यक्षसहित शिक्षकलाई रड, टेबुल र बेन्चले प्रहार गरेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। उक्त घटनामा संलग्न ६ जनालाई बेलुकी नै पक्राउ गरिसकेको र अन्यको खोजि कार्य जारि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते वडाध्यक्ष र शिक्षकको भने भक्तपुरको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।