काठमाडौं – कोरोना भाइरस संक्रमणबाट जोगाउन सरकारले चीनबाट उद्धार गरेर ल्याउने नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिवसहित बसेको बैठकले तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर अन्तिम टुंगो लगाउने पनि निर्णय गरेको छ । स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले निरीक्षण गरेपछि यसको अन्तिम निर्णय गरिनेछ ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तमा रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काइँदैछ ।
स्वदेश फर्काएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । क्वारेन्टाइनका रूपमा राखिने नेपालीको उपचार, खानालगायतका जिम्मेवारी सरोकारवाला निकायले गर्नेछन् । क्वारेन्टाइनमा चिकित्सकसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिनेछन् ।
बुधबारसम्म काठमाडौं ल्याउने भनिए पनि बल्ल राख्ने ठाउँको टुंगो लागेकाले उनीहरुलाई नेपाल ल्याउन अझै एकरदुई दिन लाग्ने स्रोतले बतायो ।
चीनमा रहेको नेपाली राजदुतावासले चीनमा रहेका विद्यार्थी फर्काउनको लागि तयारी पूरा भएको जानकारी गराइसकेको छ ।