logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्यान्सरको उपचार विदेशमा गर्दा नेपालमा भन्दा चौगुना बढी खर्च


अंकुरण खबर
1.144K
Shares

विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोग समूहले संयु्क्त रुपमा क्यान्सर जितेकाहरु र उपचारका क्रममा रहेकाहरुसंग अनुभव आदानप्रदान तथा सांकृतिक कार्यकक्रमको आयोजना गरेको छन् ।

मंगलबार अस्पताल परिषरमा आयोजित कार्यक्रममा विदेशमा क्यान्सरको उपचार गराएर आएकाहरुले क्यान्सर उपचारको नाममा भारत लगाएतका देशमा धेरै ठगिनु परेको गुनासो गरेका छन् । नेपालमा केही समय यता क्यान्सरका बिरामी बढिरहेको र केही वर्ष अघिसम्म सुविधा सम्पन्न क्यान्सर अस्पताल नभएकै कारण उपचारका लागि विदेशीनु पर्ने वाध्यता रहेको उनीहरुले बताए । तर अहिले सम्पूर्ण क्यान्सरको उपचार गर्ने गुणस्तरीय अस्पताल नेपालमै बनेकाले संभव भएसम्म उपचार गर्न बाहिर नजान पनि उनीहरुले आग्रह गरे ।

कार्यक्रममा ६ वर्षअघि फुडपाइपको क्यान्सर भएर भारतमा उपचार गरी फर्किएका नेपाल प्रहरीका डिएसपि बासुदेव पाठकले क्यान्सरको उपचार भारतमा गर्दा नेपालको भन्दा चौगुण बढी खर्च भएको बताए । अब भने नेपालमै सुविधा सम्पन्न अस्पतालहरु खुलेकाले क्यान्सर लाग्यो भन्दैमा डराउनु पर्ने अवस्था नरहेको उनको भनाई थियो । त्यस्तै अर्का क्यान्सर विजेता सञ्चारकर्मी जगन्नाथ ढकालले नेपालमा क्यान्सरको उपचारका लागि राम्रो अस्पताल र बिरामीमैत्री व्यावहार गर्ने चिकित्सक नभएकै कारण आफु जस्तै धेरै बिरामी उपचारको लागि विदेश जानुपर्ने वाध्यता रहेको गुनासो गरे । अब भने नेपालमै यस्ता अस्पताल बनेकाले क्यान्सरको उपचार गर्नै नसकेर मर्नु पर्ने अवस्था नआउने बताए ।

कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.सुदिप श्रेष्ठले क्यान्सरको प्रभावकारी उपचार नेपालमै हुने र सुरुवाती चरणमै क्यान्सरको उपचार गराए ८० प्रतिशत भन्दा बढीको पूर्ण निको हुने बताए । क्यान्सर लाग्यो भन्दैमा कसैलाई नभन्ने, लामो समयसम्म पनि उपचार नगराउनाले यो जटील भएकाले बेलैमा उपचार गर्न र मनोवल उच्च राख्न पनि डा.श्रेष्ठले आग्रह गरे ।

त्यस्तै क्यान्सर विजेता एवम् पर्यटन व्यवसायी डली गुरुङ्ले बिरामी मनोबल उच्च राखे र चिकित्सकको सल्लाहा बमोजिम चले क्यान्सरलाई सहजै पराजीत गर्न सक्ने बताइन् ।  कार्यक्रममा क्यान्सर विजेता र उपचारका क्रममा रहेकाहरुले नृत्य कला देखाउनुका साथै कविता,मुक्तक,गलज सुनाएका थिए ।

क्यान्सर अस्पतालकी निर्देशक सुदीपा श्रेष्ठले क्यान्सर लाग्नबाट बच्न र क्यान्सर लागेकालाई मनोबल बढाउन भन्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएकी छिन् ।