पञ्चदेवल–विनायक नगरपालिका-२ का वडाध्यक्ष पदमबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि गएको सिआइबीको टोली र धनगढीबाट गएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो।
मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएको थियो । आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
यस्तै अछामका प्रजिअ भोजराज श्रेष्ठ र प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहेको बताइएको छ।
मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८/९ बजेसम्म सँगै रहेका सातजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरी सोधपुछ भइरहेको जनाइएको छ ।