logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अख्तियारले गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि कांग्रेसको आकस्मिक वैठक


अंकुरण खबर
1.105K
Shares

काठमाडौं – ललिता निवासको जग्गा अनियमितता प्रकरणमा पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजय गच्छदारलाई मुद्धा लागेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक बसिरहेको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान १० बजेदेखि पार्टी पदाधिकारी बैठक बस्न थालेको हो।  ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि छलफलका लागि कानुन व्यवसायीसहित बैठक बसिरहेको छ।

बैठकमा पदाधिकारीका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, मिनेन्द्र रिजाल लगायतको सहभागिता रहेको छ। बैठकमा उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित छ।

अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी करार गर्दै काँग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

आजको बैठकपछि ललिता निवासको जग्गा अनियमितता प्रकरणमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ।