काठमाडौं – निकै चर्चामा रहदै आएको मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित भएको छ । पत्रकारको लाइसेन्स परीक्षाको व्यवस्था हटाउँदै राष्ट्रियसभा बैठकबाट मिडिया काउन्सिल विधेयक २०७५ सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रिय सभाको विधायन समितिले ‘पत्रकारलाई लाइसेन्स परीक्षा’को व्यवस्था गर्नुपर्ने प्रावधान थपेर प्रतिवेदन पठाएको थियो। तर बिहीबार बसेको राष्ट्रिय सभा बैठकले मिडिया काउन्सिल विधेयकबाट लाइसेन्स परीक्षा दिनुपर्ने प्रावधान हटाएर पारित गरेको छ।
सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेनस लिनुपर्ने व्यवस्था आफैंमा नराम्रो भने नरहेको बताए । बाँस्कोटाले संशोधन प्रस्तावमा समेत समर्थन जनाएका थिए ।
राष्ट्रिय सभाबाट पारित भएको मिडिया काउन्सिल विधेयक अब प्रतिनिधि सभामा पठाइनेछ। प्रतिनिधि सभाले आवश्यक छलफल गरी पारित गरेर प्रमाणिकरण गरेको १ महिनापछि उक्त विधेयक कानूनका रुपमा लागू हुने व्यवस्था छ।