काठमाडौं – प्रहरीले नख्खु कारागारका एक थुनुवा व्यक्तिलाई छुटाई दिने भन्दै ४२ लाख घुस लिएको आरोपमा एक वकिललाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बबरमहलबाट अधिवक्ता टंक रानामगरलाई पक्राउ गरेको हो । रानाको माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म रहेको प्रहरीले जनाएको छ ।
राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाई दिने भन्दै उनले उक्त रकम घुस लिएको पत्ता लागेपछि पक्राउ गरिएको जनाईएको छ ।
दाहालसँग अदालतले दुई करोड २४ लाख रूपैयाँ धरौटी मागेको थियो । धरौटी तिर्न नसकेर उनी अहिले नख्खु कारागारमा छन् ।
दाहाललाई २०७५ मंसिर २७ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । रानामगरले २०७४ साल साउन २४ गते पीडितबाट ४२ लाख पैसा लिएको अनुसन्धानमा खुलेको छ ।