काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै नेपाली कांग्रेसका भ्रातृ संगठनहरू विरोधमा उत्रिएका छन् ।
नेपाली कांग्रेसका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र तरुण दलका नेता कार्यकर्ताले शुक्रवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा नेविसंघ तथा तरुण दलका अध्यक्ष द्धय राजीव ढुंगाना र जीतजंग बस्नेत लगायत नेताहरुको बाक्लो सहभागी रहेको थियो । यो बिषयलाई लिएर नेपाली कांग्रेसको हिजो बसेको बैठकले आफ्ना भातृ संगठनहरुलाई सडकमा उतार्ने निर्णय गरेको थियो ।
अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध ९ करोड ६५ लाख बिगो दाबी गर्दै विशेष अदालतमा बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको छ । गच्छदारलाई मुद्दा लगाइएको विरोधमा कांग्रेसले बिहीवार र शुक्रवार प्रतिनिधि सभा बैठक समेत अवरुद्ध गरेको छ ।