काठमाडौं – काठमाडौंको कलङ्कीस्थित अण्डरपासमा बुधबार टिपरको ठक्करबाट मृत्यु भएका राजेश र मुन्ना चौधरीलाई जनही सात लाख रुपैयाँ दिइने भएको छ ।
दुर्घटनामा संलग्न टिपरका साहुले दुवै परिवारलाई क्षतिपूर्ति स्वरुप सात–सात लाख रूपैयाँ दिने सहमति भएको पीडित परिवारले जानकारी दिएका छन् । सहमति अनुसार रकम भने पाइ नसकेको जनाइएको छ ।
कालिमाटी प्रहरी वृत्तमा बिहीबारदेखि दुई पक्षबीच वार्ता भइरहेकोमा शुक्रबार सहमति भएको हो । ‘हाललाइ किरिया खर्च भनेर ५० हजार नगद र डेढ लाखको चेक दिएको छ, बाँकी पैसा काम सकिएपछि लिन बोलाएको छ,’ दुर्घटनामा ज्यान गुमाएका १९ वर्षीय राजेशका दाजु राजनकुमार चौधरीले भने ।’
राजनकुमारका अनुसार बाँकी ५ लाख टिपरधनीले पछि दिने भनेर सम्झौता गरेका छन् । त्यही आश्वासन लिएर आफ्ना भाइ राजेश र उनीसँगै ज्यान गुमाएका मुन्नाको शव बोकेर चौधरी परिवार शुक्रबारै रौतहट फर्किएका थिए ।