काठमाडौं – पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरका कामदार रहेका विजय चौधरीले हत्या गरेको प्रहरीले दावी गरेको छ ।
घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।
सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेट जाँदाको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडि फर्किएका बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको दृष्य देखिएको प्रहरीले जनाएको छ । भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपाल समातेर भुइँमा बजारेको देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए । चौधरीले के कारणले कार्कीको हत्या गरे र किन आफै आत्महत्या गरे भन्ने चाहिं अझै खुल्न सकेको छैन ।
पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथबाट बिहान पूजा सकेर घर आउँदा पत्नी मुना रगतमा लतपतिएको अवस्थामा फेला पारेपछि चिच्याउँदै कराएका थिए । त्यसपछि प्रहरीलाई घटनाबारे जानकारी गराइएको थियो ।
कार्कीका एक छोरा र दुई छोरी छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन्।