logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोकमा कोरोनाको त्रास : २०० जना बिरामी परेपछि गाउँपालिकाले लेख्यो मन्त्रालयलाई पत्र


अंकुरण खबर
819
Shares

सिन्धुपाल्चोकको गुम्बागाउँमा दुई सय भन्दाबढी व्यक्तिमा रुघा र ज्वरोको समस्या देखिएको छ।

गाउँमा बिरामीहरु बढ्न थालेपछि मंगलबार गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सम्बोधन गर्दै पत्राचार समेत गरेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा दुई सय भन्दा बढीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको हो। गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएपछि त्रास उत्पन्न भएको गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए।

सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको जिल्ला हो। चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरस अन्य देशमा पनि पुगेको छ। सिन्धुपाल्चोक चीनसँग सीमाना जोडिएको जिल्ला भएको र ज्वरोका विरामीमा पनि त्यस्तै लक्षण देखिएका कारण त्रास उत्पन्न भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठका अनुसार बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र पठाइएको छ।  त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको छ।

माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर २०० नाघेको श्रेष्ठले बताए। उनले भने, २३ गतेदेखि केही व्यक्तिमा ज्वरो र रुघाखोकी समस्या देखिएको थियो। अहिले उक्त ज्वरो २०० बढी व्यक्तिमा फैलिएको छ। एकै गाउँका स्थानीय बिरामी परेकाले तत्कालका लागि गाउँपालिकासँग भएको जनशक्ति पठाइएको उनको भनाइ छ।