कछुवाका बच्चा बिक्री गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर जिल्लाको विभिन्न ठाउँमा डेविट महर्जनसमेतले दुर्लभ वन्यजन्तु कछुवाको अवैधरूपमा ओसारपसार गरी बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखा टेकुबाट खोजतलासमा खटिएको प्रहरी टोलीले कछुवासहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर हरिसिद्धीका डेविट महर्जन छन् । उनलाई ललितपुरको पुल्चोकस्थित लाबिममल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महर्जनले रु १२ लाखमा कछुवा कारोवार गर्न खोजेको खुल्न आएको छ । उनको झोला खानतलासी गर्दा ३४ कछुवाका बच्चा फेला परेको महाशाखाले जनाएको छ ।
उनलाई आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला डिभिजन वन कार्यालय हात्तीवन पठाइएको प्रहरीले जनाएको छ ।