काठमाडौं – पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।
पूर्व सचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए । उनका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन आग्रह गरिएको छ ।
ललितपुरको सानेपास्थित कार्कीको घरमा यही माघ २७ गते बिहान उनकी श्रीमती मुनाको हत्या भएको थियो भने चौधरीले झुण्डिएर आत्महत्या गरेका थिए । चौधरी सानैदेखि सोही घरमा कामदारका रुपमा बसेका थिए ।