बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणाले हेर्ने भएका छन्।
उक्त रिटमाथि सुनुवाइ प्रधान न्यायाधीश राणाको एकल इजलासले गर्ने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्दा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईको समेत हात भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
‘नीतिगत निर्णय’ भन्दै अखितयारले नेपाल र भट्टराईविरुद्ध मुद्दा अगाडि नबढाएपछि प्रतिपक्षी कांग्रेसलगायत दल तथा सर्वसाधारणले समेत यसको चर्को विरोध गर्दै आएका छन्।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा लगाएपछि कांग्रेसले तीन दिन संसद्समेत अवरुद्घ गरेको थियो। कांग्रेसको उक्त कार्यको विरोध भएपछि पुनः उसले संसद् अवरोध फिर्ता लिएको थियो।