नुवाकोटको डिभिजन वन कार्यालयले १ गाडी अवैध काठसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
विदुर नगरपालिका–१३ को आमथाङबाट विदुर–८, राइसिंहतर्फ आउँदै गरेको बा ५ ख १५६७ नंं को मिनी ट्रक, ४६ गोलिया काठ प्रहरीको सहयोगमा वन कार्यालयले नियन्त्रणमा लिएको हो ।
ट्रकका चालक विदुर–१२ का २३ वर्षीय शुक्रमान तामाङ र गाडी धनी २५ वर्षीय अमृत थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धान गर्न जिल्ला वन कार्यालय नुवाकोटले ‘वन ऐन’ अनुसार जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ ।
काठको व्यावसायिक कटान, संकलन, ओसारपसारको लागि वन कार्यालयको अनुमति अनिवार्य भए पनि त्यसको उल्लंघन गरेकाले ओसारपसार भएको काठ अवैध मानिएको छ । कटान भएर ल्याउन बाँकी रहेको काठ र त्यसमा संलग्न अन्य व्यक्तिको वन कार्यालय र प्रहरीले खोजी गरिरहेको बताइएको छ ।