चीनको वुहानबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याईपु¥याइएका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबैलाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको हो ।
आवेदन दिएका एक सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएपछि उनीहरु चीनमै रोकिएका छन् भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर खरिपाटी पुर्याइएको थियो । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो।
एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन्। चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो । उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक तापक्रमसहित अरु स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका हुन्। नेपाल आइपुगेका एक सय ७५ जनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि स्वास्थ्य परीक्षण गरेर केही समस्या नदेखिएका व्यक्तिलाई मात्र भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा लगिएको सरकारले जनाएको छ।