logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनबाट ल्याइएकाको ‘खरिपाटी क्‍वारेन्टाइन’मै स्वास्थ्य परीक्षण


अंकुरण खबर
1.053K
Shares

काठमाडौं  – सरकारले चीनको वुहानबाट १७५ जना नेपालीलाई नेपाल वायु सेवा निगमको जहाजबाट उद्धार गरेर ल्याएको छ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा आवश्यक स्वास्थ्य जाँचपछि भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा लगिएको हो । बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबैलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र परिसरमा बनाइएको क्‍वारेन्टाइनमा पुर्‍याएर स्वास्थ्य परीक्षण सुरु गरिएको छ।

अहिले २४ घन्टा भित्र परीक्षण गर्नुपर्ने रगत तथा र्‍याल नमूना संकलन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतवार उनीहरुको स्वास्थ्य परीक्षणका लागि रगत र र्‍यालको नमूना संकलन गरेर टेकुस्थित केन्द्रीय प्रयोगशालमा पहिलो परीक्षण हुने मन्त्रालय स्रोतले जनाएको छ।

यो परीक्षमा यदि कोरोना भाइरस देखियो भने उनीहरुलाई टेकु अस्पताल ल्याएर आइसोलेसन वार्डमा राखिने छ। योसँगै हरेक दिन विद्यार्थीहरुको दुई पटक ज्वरो परीक्षण गरिने छ। १४ दिनसम्म क्‍वारेन्टाइनमा बस्दा ज्वरो देखिए सीधै आइसोलेसन वार्डमा राखिनेछ। क्‍वारेन्टाइनमा रहेका सबैको हरेक दिन दुई पटक ज्वरो नापिनेछ। यसका लागि क्‍वारेन्टाइनमा छुट्टाछुट्टै थर्मोमिटरको व्यवस्था गरिएको छ।

विमानस्थलमा परीक्षणका क्रममा सबैको स्वास्थ्य राम्रो देखिएको थियो। क्‍वारेन्टाइनमा लैजानुअघि विमानस्थलमा उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो।  एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन्।

चीनको वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो।

उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक तापक्रमसहित अरु स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका हुन्। नेपाल आइपुगेका एक सय ७५ जनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर केही समस्या नदेखिएका व्यक्तिलाई मात्र भक्तपुरको खरिपाटीमा रहेको क्‍वारेन्टाइनमा लगिएको सरकारले जनाएको छ।

वुहानबाट १ सय ८५ नेपालीको उद्धार तयारी थियो। तर अन्तिम समयमा १० जना चीनमै रोकिए। १ सय ८५ मध्ये ४ जनाले वुहानमै बस्‍ने निर्णय गरे भने ६ जनामा ज्वरो देखिएका कारण नेपाल नल्याइएको हो। खरिपाटी क्‍वारेन्टाइनमा उनीहरुलाई बस्‍न विशेष व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै बसोबासको व्यवस्था गरेको छ।