संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले भारत र पाकिस्तानबिच जारी तनावप्रति चिन्ता व्यक्त गरेका छन् ।
पाकिस्तान भ्रमणको क्रममा महासचिव गुतेरेसले दुई राष्ट्रबीच सौहार्द वातवरण निर्माण गर्न दुबै राष्ट्र लचक हुनुपर्ने बताएका हुन् । थप क्षतिबाट बच्न पनि संयमता अपनाउन उनले सुझाव दिएका छन् ।
उनले यी दुई राष्ट्रको तनाव कम गर्न संयुक्त राष्ट्रसंघले धेरै प्रयास गरेको पनि बताए । उनले भने, ‘हामीले दुईदेशबिच वार्ता स्थापित गर्ने प्रस्ताव गरेका थियौँ, तर वार्ता दुई देश तयार भएपछि मात्रै सम्भव हुन्छ । शान्ति तथा स्थिरता वार्ताकै माध्यमबाट आउँछ । दुवै देशले संयमता अपनाउनु पर्ने देखिन्छ ।’
भारतले भने महासचिव गुतेरेसको प्रस्ताव अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भनेका छन्, ‘भारतको निर्णय पहिले जे थियो अहिले पनि त्यहि हो । जम्मू–कश्मीर भारतको अभिन्न अंग हो र रहने छ। पाकिस्तानले कब्जा गरेको कश्मीरबारे वार्ताको खाँचो हो । भारत–पाकिस्तान वार्ताका लागि कसैको मध्यस्थता आवश्यक पर्दैन ।’