logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनताको चाहना सम्बोधन गर्न प्रजातन्त्र दिवसले प्रेरित गरेको छ : राष्ट्रपति भण्डारी


अंकुरण खबर
1.755K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मुलुकको आर्थिक-सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको र जनताका ती चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने बताइन् ।

राष्ट्रपतिले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेकी छन्।

राष्ट्रपतिले सन्देशमा प्रजातन्त्रका लागि भएको सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात(अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपतिले यसलाई प्रजातन्त्रको ठूलो उपलब्धिका रुपमा लिन सकिने बताइन्।

निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरुप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गतेलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ।