काठमाडौं – पशुपति क्षेत्र विकास कोषले शुक्रवार हुने महाशिवरात्रिको तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
बुधवार दिउँसो पत्रकार सम्मेलन गरी कोषले विभिन्न समितिहरु गठन भइसकेकोले कार्यक्रम भव्यताका साथ महाशिवरात्री सम्पन्न हुने विश्वास लिएको छ ।
सुरक्षा व्यवस्थाको तयारीसमेत पुरा भएको जानकारी दिँदै कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ। सादा पोशाकमा समेत प्रहरीहरु परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिनेछ।’
मेलामा मासु, मदिरा र गाँजा निषेध गरिएको छ। ‘पशुपति क्षेत्र कानुनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्व समेतमा गाँजा-भाङ, जाँड-रक्सी जस्ता नशालु पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न सबैलाई अनुरोध गरिएको छ ।
त्यसैगरी पशुपति क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र भएको उल्लेख गर्दै कोषले मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थाहरुलाई भोजन, पानी, चिया वितरण गर्दा प्लाष्टिकका कप प्रयोग नगर्न अनुरोध गरेको छ ।