हिन्दुहरुको महान पर्व आज शिवरात्री मनाइदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाउने गरिन्छ । शिव रात्रीका दिन आज पशुपति मन्दिर तथा देशैभरमा शिवालयमा भक्तजनको घुइचो लागेको छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।
आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाएर ग्रहण गरिन्छ।
दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागू पदार्थ निषेध गरिएको छ। यस वर्ष पनि यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा कारबाही गर्ने प्रहरीले जनाएको छ ।
महाशिवरात्रिका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ। यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। नेपाललगायत विदेशबाट फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ।
यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको हो । यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाएको छ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकाली लगायत स्थानमा व्यवस्था मिलाइएको छ ।