logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्ट्रपति ट्रम्पका सल्लाहकारलाई ४० महिना जेल सजाय


अंकुरण खबर
3.289K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल सजाय सुनाइएको छ । विकिलिक्ससँग सम्पर्क स्थापित गर्ने आफ्ना प्रयासहरूबारे संसद्‌को गुप्तचर समितिसमक्ष झूटो बोलेको भन्दै स्टोनलाई दोषी ठहर गरिएको हो। यही अभियोगमा ६७ वर्षीय स्टोन लाई जेल सजाए सुनाइएको हो ।

उनलाई जेलसजाय सुनाएकी न्यायाधीश एमी बर्मन ज्याकसनलाई स्टेनले धम्काएको ज्याकसनले बताएकी छन् । ट्रम्पले भने स्टोनलाई सफाइ दिइनुपर्ने दाबी गरेका छन् ।

सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएका स्टोन दोषी ठहर हुने ट्रम्पका छैटौँ सल्लाहकार हुन् । अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार रुसी ह्याकरहरूले क्लिन्टनसम्बन्धी इमेलहरू चुहावट गरेका थिए ।

स्टोनलाई २० हजार डलर जरिवाना तिर्न र समुदायमा २५० घण्टा सेवा गर्न पनि न्यायाधीशले आदेश दिएकी छन्।
अभियोजनकर्ताहरूले स्टोनविरुद्ध सातदेखि नौ वर्षको जेलसजाय सुनाउन माग गरेका थिए ।

न्यायाधीश ज्याकसनले गत वर्ष आफ्नो टाउकोको छेउमा बन्दुकको चित्र राखेर सामाजिक सञ्जालमा तस्वीर राखेका स्टोनलाई आफूले के गरिरहेको छु भन्ने कुरा राम्ररी थाहा रहेको उल्लेख गरिन् । न्यायाधीश ज्याकसनले राष्ट्रपतिको पक्षमा उभिएकोले नभई राष्ट्रपतिका कामलाई ढाकछोप गरेको अभियोगमा चाहिँ स्टोनलाई दोषी ठहर गरिएको बताइन् ।

बिहीवार न्यायाधीश ज्याकसनले मुद्दामा न्याय मन्त्रालयको हस्तक्षेप अशोभनीय भएको टिप्पणी गरिन् । अदालतको आदेशपछि लस भेगासमा बोल्दै ट्रम्पले स्टोनको प्रतिरक्षा गरेका छन् । उनले स्टोनलाई माफी दिने तत्काल आफ्नो योजना नरहे पनि एउटा बिन्दुमा आफूले निर्णय लिने बताए ।