logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टुँडिखेलमा सेना दिवसको यस्तो छ तयारी


अंकुरण खबर
1.261K
Shares

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शुक्रबार देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् ।

नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । यस दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । जङ्गीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति पूर्णचन्द्र थापा छन् ।

सेनाको इतिहास र अन्तरराष्ट्रिय छवि

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि ईतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरवात भएको हो ।

देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रबिन्दुमा राखि सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिककाबीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।

सैनिक वीरपूर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी भित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहने गर्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन चार जात छत्तिस जातिको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरूपमा वृद्धि हुदै गएको छ ।

सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दा छवि स्थापित गर्न सफल भएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाण्डु तराई मधेश द्रुतमार्गको काम भइरहेको छ ।

दरबार, सङ्ग्राहलय, ऐतिहासिक महत्वका संरचना, विद्युतत् गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको छ । मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै अहिले नेपाली सेनाअघि बढिरहेको छ ।