logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा बन्धक दुई नेपाली चेलीको ६ महिनापछि उद्धार


अंकुरण खबर
689
Shares

६ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ ।

पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ता बजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

आफ्ना छोरीलाई बन्धक बनाई राखिएकाले उद्धार गरिदिनु भन्ने युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।

घटनाको थप अनुसन्धान पनि चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । युवती लैजाने राई थरकी महिला र अन्य संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदी-बहिनी हुन् । एक महिलाले पसलमा राम्रो काम लगाई दिने भन्दै प्रलोभनमा पारी भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिने र घरमा आउन समेत नदिएपछि उनीहरुले घरमा खबर गरेको युवतीकी आमाले जानकारी दिएकी हुन् ।