काठमाडौं – काठमाडौंको बालाजुस्थित फिल्महल अगाडि ट्याक्सी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार व्यक्ति भने गम्भीर घाइते भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माछापोखरीबाट बालाजुतर्फ आउँदै गरेको बा२ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा७८प १४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते मोटरसाइकल चालक नुवाकोट, ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङ र पछाडि सवार सोही ठाउँका २२ वर्षकै रुपेश तामाङलाई उपचारका लागि महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। मोटरसाइकल चालक निखिलको उपचारका क्रममा बिहान सवा ५ बजेतिर ज्यान गएको जनाइएको छ । अर्का घाइते व्यक्तिको उपचार भइरहेको छ।
प्रहरीले ट्याक्सी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।