logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको संक्रमणले विश्वव्यापी ‘महामारी’ को रुप लिने खतरा, तयारी अवस्थामा रहन डब्लुएचओको आग्रह


अंकुरण खबर
819
Shares

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् नोबेल कोरोना भाइरसको सङ्क्रमणको सम्भावित महामारी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आग्रह गरेको छ ।

चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भएकाले सङ्क्रमणविरुद्ध लड्न तयारी अवस्थामा रहन डब्लूएचओले आग्रह गरेको हो । तर डब्लूएचओले अहिले नै कोरोनाको सङ्क्रमणलाई विश्वव्यापी महामारी भन्न नमिल्ने बताएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण चीनसहितका देशमा दुई हजार ६ सय ९८ जनाको ज्यान गइसकेको छ भने ८० हजारभन्दा धेरै मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ ।

यस्तै कोरोनाका कारण चीनबाहिर ३० देशमा २० जनाको ज्यान गएको छ । एक हजार दुई सय जनाभन्दा धेरैमा सङ्क्रमण भएको पुष्टि भएको छ । कोरोनाका कारण सबैभन्दा धेरै दक्षिण कोरियामा आठ जनाको ज्यान गएको छ भने आठ सय ३० जनामा कोरोना भएको पुष्टि भएको छ ।

यस्तै इटलीमा सात जनाको ज्यान गएको छ भने दुई सय २९ जनामा सङ्क्रमण भएको पाइएको छ ।
विश्वका धेरै क्षेत्रमा सङ्क्रमण सहज रुपमा एक व्यक्तिबाट अर्कोमा सर्न थालेपछिको अवस्थालाई विश्वव्यापी महामारी भन्ने गरिन्छ ।

रुघाखोकीसँगै उच्च ज्वरो आउनु र श्वास फेर्न गाह्रो हुनु कोरोना भाइरसको लक्षण हो । बारम्बार साबुनपानीले हात धुने, सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा नबस्ने, आँखा, नाक र मुख छोइसकेपछि हात धोइहाल्ने गरेमा कोरोना सङ्क्रमण फैलन कम हुने डब्लूएचओको विश्वास छ । एजेन्सी