logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

बाँस्कोटा अडियो प्रकरण : प्रधानमन्त्रीले जवाफ नदिए सदन अवरोध गर्ने


अंकुरण खबर
936
Shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी समाजवादी पार्टी तथा राष्ट्रिय जनता पार्टी (राजपा) ले सुरक्षण मुद्रण खरिद प्रकरणमा ७० करोडको कमिसन प्रकरणमा जोडिएका तत्कालीन संचार मन्त्री गोकुल बाँस्कोटाको विषयमा बोल्न नपाए सदन अवरोध गर्ने भएका छन् ।

एक स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोडको बार्गेनिङ गरेको अडियो बिहीबार सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी कांग्रेसले बाँस्कोटाको राजीनामाको माग गर्दै बिहीबार नै राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक अवरोध गरेको थियो ।

बाँस्कोटाले पदबाट राजीनामा दिए पनि त्यस विषयमा बाँस्कोटालाई कारबाही गर्ने र प्रधानमन्त्रीले सदनमा सो विषयमा जानकारी दिनु पर्ने कांग्रेसको माग छ ।

सोमबार विपक्षी दलहरु कांग्रेस, समाजवादी र राजपाका शीर्ष नेताबीच भएको सहमतिअनुसार ७० करोडको कमिसन प्रकरणका विषयमा तीन दलका १/१ जनालाई बोल्न दिन सदन अबरोध नहुने भएको छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले तीन दलका सांसदलाई बोल्न नदिए सदन अवरोध हुने सम्भावना छ ।

कांग्रेसका एक सांसदका अनुसार तीनै दलका तीन सांसदले बोलिसकेपछि सरकारको तर्फबाट प्रधानमन्त्रीले जवाफ दिने छन् । तर, प्रधानमन्त्रीले जवाफ नदिए मंगलबारको बैठक अवरोध गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार संसदको दुवै सदनको बैठकमा जवाफ दिने वा नदिने भन्ने विषयमा केही बोलेका छैनन् ।