काठमाडौंको कपन खरिबोट एरियामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले चार जना व्यक्तिलाई पक्राउ गरेको छ ।
उनीहरुलाई बन्यजन्तुको चोरी शिकारी छाला बिक्रीवितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा सोमबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिन्धुली तिनपाटन गाउँपालिका–४ बालाजोर घर भई हाल काठमाडौंको कपन पैयुटार बस्ने ३९ वर्षीय सुर्य बहादुर भुजेल, धादिङको धुनिबेसी नगरपालिका–७ झाप्रे घर भई हाल ललितपुरको ढोलाहिटी बस्ने ४० वर्षीय सुक बहादुर लामा, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ कपन बस्ने ४० वर्षीया कमला तामाङ र कास्कीको मादी गाउँपालिका–८ तारकाङ घर भई हाल काठमाडौंको गौशला बस्ने ३७ वर्षीय युबराज सापकोटा रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पछाडी बोकेको कालो रंगको ब्याग भित्र निलो प्लाष्टिकमा बेरिएको अवस्थामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला १ थान फेला पारी पक्राउ गरी आबश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाडौं पठाईएको जनाइएको छ ।