सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले डा. कोइरालासँग बिहीबार बिहान करिब डेढ घण्टा भेटवार्ता गरेका हुन् । आफ्नै निमन्त्रणामा बालुवाटार पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।
भेटको सुरुवातमै कोइरालाले प्रधानमन्त्री ओलीको राजीनामा मागेको कोइराला निकट स्रोतले जानकारी दिएको छ । जवाफमा ओलीले विपक्षी दलले राजीनामा दिन सुझाउनु स्वाभाविक भए पनि आफूविरुद्ध पार्टीभित्रैबाट षड्यन्त्र हुन थालेको गुनासो गरेका जनाइएको छ ।
कोइरालाले गोकुल बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री समेत जोडिएको तथा सरकारमाथि अनेकन प्रश्न चिन्ह खडा भएको भन्दै पदबाट राजीनामा दिँदा उचित हुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।
आगामी महाधिवेशनमा कांग्रेसको सभापतिको दावेदार कोइराला आजभोली कार्यकर्ता भेटघाटमा व्यस्त रेहेका छन् ।